सेतो लामो जामा। टाउकोमा ढाका टोपी। खाली खुट्टा। शरीरमा बाधिँएको छ खिँ बाजा। ५५ वर्षीय दयाराम वनमाला यही रुपमा वर्षको ८ महिना व्यस्त हुन्छन् नवदूर्गा नाचका लागि।

करिब ७ वर्षको उमेर देखि नवदूर्गा नाचमा संलग्न हुँदै आएका दयाराम अहिले देवगणका गुरु बनिसके। जीवनी भने फेरिएको छैन। वर्षको ८ महिना नवदूर्गा नाचमै व्यस्त त हुनै पर्‍यो ३ महिना नयाँ पुस्ताका देवगणलाई नाच सिकाउन जान्छ। वर्षमा १ महिना भने फुर्सद।  कक्षा ४ मा अध्ययन गर्दागर्दै देवता बनेपछि महिनौं बाहिर रहनुपर्ने बाध्यता। विद्यालयबाट टाढा रहँदा पढाइ नि छुट्यो। त्यसयता निरन्तर नवदुर्गा नाचलाई नै जीवन समर्पित गरिरहेका छन् उनले।

भक्तपुर इनाचोका दयाराम विगतबारे सुनाउँछन्,'देवताको काम भयो। परीक्षा हुँदा नाच हुने। धेरै ठाउँमा जानुपर्ने हुँदा परीक्षा छुट्यो। ४ कक्षा सम्म पढ्यो। त्यसपछि स्कूल छुट्यो। देवताको काम गर्नैपर्‍यो।' देवताको काम निकै गाह्रो हुने भएकाले अरु कामका लागि देवगणसँग फुर्सदै नहुने उनी बताउँछन्।बिहानदेखि रातिसम्म नाच्ने। कहिले ख्वापा (मुकुन्डो) बोक्दै हिँड्ने त कहिले शीरमा ख्वापा अड्याएर नाच्दै। यसरी नै बित्यो उनको करिब ४० वर्ष। अहिले भने खिं बाजा बनाउँदै नवदूर्गा नृत्यमा ताल भर्दैछन् उनी।

नवदूर्गा देवगण बनेर नृत्य गर्दै हिँड्नु उनको पुर्खौली परम्परा हो। दायित्व पनि। त्यसैले उनी यसलाई निरन्तर चलाइरहने बताउँछन्। यद्यपि, नाचमै जीवनशैली आधारित भएको हुँदा यसैबाट मात्रै जीविकोपार्जन चलाउन बाध्य छन् उनी। फुर्सदको समयमा खेतमा धान, गहुँ लगाउने बाहेक अरु काम गर्न भ्याउँदैनन् उनी र उनको परिवार। वर्षको ८ महिना देवता बनेर हिँड्ने भएपछि अरु काम गर्न भ्याइदैन। खेत छ त्यहाँ धान गहुँ खेती हुन्छ। यसैबाट चल्छ। वर्षैपछि नाच्ने हो' उनले भने।

उनी र उनका भाइ नवदूर्गा गणका गुरु बनिसके। तर यो नाचको निरन्तरताका लागि युवा पुस्ता अघि आउन त्यति तयार देखिएका छैनन्।'अब हामी नै सिकाउने हो।  त्यसपछि थाहा छैन । देवता बोक्ने धेरैजना छैन। १०-१५ जना छ। देवता बोक्ने बारे वास्ता छैन।' उनी सुनाउँछन्।

८ महिना निरन्तर रुपमा खटिनुपर्ने, अन्य काममा सहभागी हुन नपाउने, कडा नियममा बस्नुपर्ने लगायतका नियमहरुले नयाँ पुस्ता यस नाचप्रति आकर्षित हुन सकेका छैनन्। त्यसमाथि यही नाचलाई आधार बनाएर 'करियर' बनाउन नि त गाह्रो छ। त्यसैले यस नाचमा अहिले युवा पुस्ताको संलग्नता न्यून छ।

कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण भने यो वर्ष पाँचजना नयाँ युवाहरु यस वर्ष नवदूर्गा गण बनेका छन्।   बाराही, महाकाली, कुमारी, गणेश र ब्रहमायणीका रुपमा नयाँ पुस्ताका युवाहरु देवगण बनेका छन्। ती मध्ये गणेशको रुपमा छन् विशाल वनमाला।

२२ वर्षीय विशाल पहिलोपटक नवदूर्गा गणमा गणेद्य: बनेर नृत्य प्रस्तुत गरिरहेका छन्। यसअघि स्वतन्त्र रुपमा जीवन निर्वाह गरेका उनको जीवनमा देवता बनेदेखि धेरै परिवर्तन आएका छन्। सबैभन्दा ठूलो असर परेको छ पढाइमा।

विशालले गोल्डेनगेट कलेजमा ब्याचलर्स इन् होटल म्यानेजमेन्टमा छैटौं सेमेस्टरमा अध्ययन पूरा गरिसका थिए। त्यसपछि बाँकी थियो इन्टर्नसीप। यसबीच उनलाई नवदूर्गा गणमा सामेल हुनुपर्‍यो जसकारण उनले इन्टर्नसिप त्याग्नु पर्‍यो।

भन्छन्, ' जीवनमा  पहिलाभन्दा अहिले धेरै परिवर्तन आएको छ। ८ महिनासम्म यसैमा खटिएपछि शिक्षामा असर पर्छ नै। इन्टर्नसिप फिक्स नै भइसक्या थियो। तर करियरको यो मोडमा छोड्नुपर्‍यो। बाहिर जाने कुरा थियो। तर यहाँ आएर दायित्व पनि पूरा गर्नु थियो। त्यो अवसर गुमाएँ। पूर्खादेखि चलिआएकोलाई छोड्न भएन।'

पूर्खाले छाडेर गएको विरासत त्याग्न त्यति सजिलो नभएको उनी बताउँछन्। त्यसैले भविष्यमा गएर आफू ठूलै मान्छे बनेपनि सबै छोडेर नवदूर्गाको कामको लागि आउनुपर्ने बताउँछन् उनी।हुन त उनलाई पहिला देखि नवदूर्गागण बन्न परिवारबाट दबाब थियो। ३० वर्षभन्दा बढी उनको बुवा नवदूर्गा गण बन्दै हिँडदैछन्। पालो आयो उनको। कोरोना भाइरसको कारण लकडाउन गरियो। ‍सबै क्षेत्र बन्द भए। परिवारबाट नि अहिले कलेज छैन भनेर देवता बन्न कर भयो। उनले पनि कोरोना यति छिट्टै सकिएला भन्ने सोचेनन्। र हुन्छ भनेर बने जीवित देवता। जसकारण इन्टर्नशिप छुट्यो। यद्यपि उनी खुशी छन्। पुर्ख्यौली संस्कृति जगेर्ना गर्न केही भूमिका खेल्न पाएकोमा।

तर, नाच संचालनमा  व्यवस्थापनको अभाव हुने हो भने आउने दिनमा यो नाच संचालन गर्न गाह्रो हुने उनी बताउँछन्।

'मेरो जेनेरेसनको थोरै छ। यो वर्ष लकडाउनले गर्दा नयाँ छन्। देउता बन्ने भनेदेखि नाइ भन्ने छ।  बजेट नि राम्रो छैन। माग्न जाने। नयाँ जेनेरेसनलाई त्यस्तो मन पर्दैन नि। कोभिडले गर्दा ५ जना भए। नवदूर्गा नाच यस्तो हो भने गाह्रो छ,' उनले सुनाए।

त्यसैले उनी अब नाचलाई निरन्तरता दिनका लागि व्यवस्थपनमा ध्यान दिनुपर्ने मत राख्छन्। जसकारण नयाँ पुस्ता समेत यस नाचप्रति आकर्षित हुन्।  

'१ वर्ष देवता बने ८ महिना रोकिनुपर्छ। अरु जाने कतै बाटो छैन। संस्कृति प्रति जिम्मेवारी पूरा गर्दा खुशी छु। पढाई छैन त्यसमा दु:ख छ। तर संस्कृतिको सम्मानमा हामी जति लागेका छौं जात्रा चलाएर सम्मान देखिएको छैन। व्यवस्थापन भए नयाँ जेनेरेसन पनि राम्रो हुन्छ। सरकारले नि चासो दिएको छैन।'

गुरु दयाराम पनि आउने पुस्तालाई लिएर चिन्तित छन्। थोरै व्यक्तिमात्रै यसमा संलग्न भइरहेको भन्दै भविष्यमा नाच के हुने हो भन्न नसकिने बताउँछन् उनी। नाचको लागि अहिले आफूहरुले नै खर्च गरिरहेको र सरकार र नगरपालिकाबाट सहयोग नभएको उनी बताउँछन्।

'कसैले सहयोग गरेको छैन। गुठी संस्थान, नगरपालिकाले नि हेरेको छैन। टोलटोलमा पुजा गर्ने, पैसा चढाउने त्यहीबाट चलेको हो। अरु सबै आफैले संचालन भइरहेको छ।'

विशालपनि जात्रा संचालनमा सरकारले चासो नदिएको र आर्थिक पाटो निकै कमजोर रहेकोले नृत्यको निरन्तरताका लागि सरकार र सरोकारवाला सबैले बेलैमा सोच्नुपर्ने बताउँछन्।